झापामा पिकअप र बस ठोक्किँएर दुर्घटना : बालकको मृत्यु

dasgaja.com

बिर्तामोड ।झापाको कनकाई नगरपालिका–३ नयाँबस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअप गाडी र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा एक बालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

आज ( माघ १ गते ) बिहान करिब ९ः३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालवाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा पिकअपमा सवार झापा भद्रपुर नगरपालिका–४ निवासी १ वर्ष ६ महिनाको आरुति राजवंशीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल र बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ।  केही घाइतेको अवस्था गम्भीर, केहीको मध्यम तथा केहीको सामान्य रहेको छ।

पिकअप चालक झापा बिर्तामोड नगरपालिका–६ निवासी ३९ वर्षीय जाकिर हुसेन प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनामा संलग्न बसका चालक भने घटनापछि फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया