धरान । धरान उपमहानगरपालिका वडा नम्बर-११मा सञ्चालित सामुदायिक विद्यालय ज्ञानोदय माध्यमिक विद्यालयमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गरिएको विरुद्धमा दर्ता रिट माथी उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको छ।
विद्यालय व्यवस्थापन समितिका सदस्य द्वय कला राई र गीता कुमारी जिमीले अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गैर कानुनी भएको दाबी गर्दै पौष ४ गते शुक्रवार उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका थिए।
उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत विराटनगरको पौष ६ गते बसेको संयुक्त इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। रिट निवेदकले धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई र वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई विपक्षी बनाएर अदालतको अवहेलना सम्बन्धी रिट दर्ता गरेका थिए।
मुद्दा बिचाराधिन रहेको अवस्थामा नगर प्रमुख हर्क राज राईको अध्यक्षतामा मंसिर १६ गते बसेको नगर शिक्षा समिति बैठकले शिक्षा ऐन २०७६ को दफा १४ को उपदफा ९२० बमोजिम ज्ञानोदय माध्यमिक विद्यालय धरान–११ र सरस्वती माध्यमिक विद्यालय पानमारा गरी दुई विद्यालयमा नगर प्रमुख संयोजक रहने गरि पाँच सदस्यीय अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको थियो।
विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि प्रभावित नहोस् भन्ने उद्देश्यले धरान उपमहानगरपालिकाले अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गरेको नगरपालिकाले जनाएको छ।
उच्च अदालतले कारण देखाउ आदेश जारी गरे संगै अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नगर प्रमुख स्वयं संयोजक रहने गरी अस्थायी समिति गठन गर्नु कानुनी रूपमा उचित हो कि होइन भन्ने प्रश्न उठेको र उच्च अदालतको अन्तिम आदेशपछि मात्रै अस्थायी व्यवस्थापन समितिको बैधानिकताको विषय टुंगो लाग्ने छ।