काठमाडौं । जनमत पार्टीबाट कारबाहीमा परेका र अलग भएका नेताहरूले शनिवार जनकपुरमा नयाँ पार्टी ‘जनस्वराज’ घोषणा गरेका छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा डा। सञ्जयकुमार साहको अध्यक्षतामा दुईदिने बैठकले पार्टी खोल्ने निर्णय गरेको हो ।
पार्टीले सामूहिक नेतृत्वमा जोड दिँदै कुनै एक व्यक्तिलाई अध्यक्ष नबनाउने नीति लिएको छ । पार्टी गठनसँगै तीनवटा विभाग स्थापना गरिएको छ। डा। सञ्जयकुमार साहलाई प्रशिक्षण विभाग, दीपक साहलाई राजनीतिक सङ्गठन विभाग र ई। सुरेन्द्रनारायण यादवलाई आर्थिक विभागको जिम्मेवारी दिइएको छ ।
अन्य नेताहरूलाई पनि विभागीय जिम्मेवारी प्रदान गर्ने तयारी छ । दीपक साह यसअघि जनमत पार्टीको उपाध्यक्ष र अनुशासन समिति संयोजक थिए भने यादव कोषाध्यक्ष थिए । दुवैलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले कारबाही गरेर निष्कासित गरेका थिए ।
जनस्वराज पार्टीले व्यक्तिवाद त्यागेर सामूहिक सहभागिता, सेवा, जिम्मेवारी, एकता र समानतामा जोड दिएको छ । पार्टीले जनताको स्वशासन, इमानदारी, पारदर्शिता र जबाफदेही नेतृत्व स्थापित गर्ने लक्ष्य राखेको छ ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारमुक्त राजनीति, स्थानीय स्वायत्तता र कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने उद्देश्य बोकेको छ । यसअघि जेनजी आन्दोलनपछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताले विद्रोह गरेर पार्टी छाडेका थिए । उनीहरू नयाँ पार्टीमा नरहे पनि कुराकानी भने भइरहेको जनाइएको छ ।