डिलकुमारी नेपाल ,चितवन : प्रेस सेन्टर नेपालले चितवनसहित देशैभर विभिन्न कार्यक्रम सहित आफ्नो २२ औं स्थापना दिवस मनाएको छ। चितवनकी अग्रज एवंम् प्रेस सेन्टर नेपालकी केन्द्रिय सदस्य अजिता अधिकारीको प्रमुख आतिथ्यतामा चितवनमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो ।
प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको जिल्ला उपाध्यक्ष एवंम् कार्यक्रम संयोजक नविनबाबु मरहट्टाले जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले प्रेस सेन्टर श्रमजीविहरुको साझा संगठन बन्न सफल भएको बताउदै सधैं सत्य, तथ्य र जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरिन् । प्रेस सेन्टरले भ्रष्टाचार विरोधी अभियानलाई पनि कलमको माध्यमबाट खबरदारी गर्दै जनपक्षीय पत्रकारिता मार्फत देशको समृद्धि र सामाजिक न्यायका लागि सधै अग्र स्थान रहेको बताईन् ।
कार्यक्रममा पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारीले श्रमजीवि पत्रकारहरुको हक हित र सुरक्षाका लागि सेन्टरसँगको सहकार्य थप सशक्त बनाउने बताए । कार्यक्रममा प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्यले विगत २२ वर्षको लामो ईतिहास , प्रेस सेन्टरको चितवन समिति जनपक्षीय पत्रकारिताको बलियो माध्यमका रूपमा अगाडि बढिरहेको बताए ।
सत्य, तथ्य र निष्पक्षतामा आधारित रहेर नागरिकका हक अधिकार र न्यायका लागि आफूहरु सधै अग्र स्थानमा लडिरहेको उनको भनाई छ । “नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेको छ अध्यक्ष आचार्यले भने अबको समयमा प्रेस सेन्टरले तथ्यपरक रिपोर्टिङ गर्दै राष्ट्र निर्माण र समानतामूलक समाज निर्माणमा ठोस योगदान पुर्याउनुपर्ने आवश्यकता छ।”
जिल्ला उपाध्यक्ष तथा कार्यक्रम संयोजक नबिनबाबु मरहट्टाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम भरतपुर महानगर कमिटीका उपाध्यक्ष रवि अधिकारीले सञ्चालन गरेका थिए ।