काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।
शर्मामाथि एक बालिकालाई लामो समयदेखि आफ्नै घरमा राखेर बालश्रम गराएको गम्भीर आरोप लागेको छ। यसअघि काठमाडौं महानगरपालिकाको नगरप्रहरी, वडा प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले ती बालिकाको उद्धार गरी घटनास्थलको मुचुल्का समेत तयार पारेको थियो।
उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रारम्भिक रूपमा मुद्दा नचलाउने रायसहित फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो। तर, चौतर्फी दबाब र निरन्तर अनुसन्धानपछि प्रहरीले शर्मालाई पक्राउ गर्दै थप कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक प्रमाण संकलन गरी मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिएको छ।