बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किएर दुर्घटना : युवतीको मृत्यु

dasgaja.com

बिर्तामोड ।झापाको बिर्तामोड नगरपालिकामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

 माघ ३ गते राति करिब १०ः५० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित अदुवाखोला पुल छेउको पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। लक्ष्मीपुरबाट मुक्तिचोकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वनस्टप मलबाट अदुवाखोला तर्फ जाँदै गरेको मे.१ ह ३७२१ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नम्बर ३ निवासी २४ वर्षीय निरज कार्की र मोटरसाइकलको पछाडि सवार दमक निवासी (वडा नखुलेको) २२ वर्षीया सुजाता बुढाथोकी गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बीएनसी अस्पताल लगिएकोमा उपचारकै क्रममा माघ ५ गते बिहान करिब ४ बजे सुजाता बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनापछि अटो चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ निवासी ३४ वर्षीय खेमराज खड्का र मोटरसाइकल चालकलाई सामान्य उपचारपछि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया