चितवनमा सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु : ५० जनाभन्दा बढी प्रशिक्षार्थी दिक्षित हुने

dasgaja.com

चितवन । नेपाल सितोरियो सोवुकान कराते डो संघ चितवनको आयोजनामा  जिल्ला स्तरीय सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु भएको छ ।                                                                                      नेपाल सितोरियो सोवुकान कराते डो संघ चितवनको आयोजनामा भरतपुर कभर्ड हलमा शुक्रबारदेखि  कार्यक्रम सुरु भएको हो ।

माघ ४ गतेसम्म चल्ने कार्यक्रमको शुक्रबार प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे ।  कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै कार्कीले खेलाडीहरु दिक्षित हुनु आँफैमा एउटा उपलब्धि भएको भन्दै दिक्षित खेलाडीहरुलाई शुभकामना व्यक्त गर्दै आफूले सिके जानेका ज्ञान सिपबाट नव प्रतिभाहरुलाई प्रेरित गर्न आग्रह गरे । 

तीन दिनसम्म चल्ने दिक्षान्त समारोहमा चितवन र छिमेकी जिल्लाबाट एक सय ५० भन्दा बढी खेलाडीहरु सहभागी छन् । उनीहरुलाई खेलको नियम र आत्मरक्षा सम्बन्धि प्रशिक्षणका साथै आवश्यक बिषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ । सहभागी हरु लाई  फर्स्ट डन, सेकेन्ड डन र थर्ड डनबाट दिक्षित गरिनेछ ।

उनीहरुलाई नेपाल सितोरियो सोवुकान कराते डो संघका प्रशिक्षक सजन श्रेष्ठले मुख्य प्रशिक्षक तथा बागमती प्रदेशका अध्यक्ष सनिस श्रेष्ठ र सचिव सम्राट श्रेष्ठले सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण दिनेछन् ।

कार्यक्रमका अध्यक्ष चितवन ग्रेडिङ समितिका संयोजक सुधिर श्रेष्ठले पछिल्लो समय चितवन र छिमेकी जिल्लामा सितोरियो सोवुकान कराते विस्तार हुँदै गएको बताए । यो सुखद पक्ष रहेको उनको भनाइ थियो । 

यसैबीच सोही कार्यक्रममा करातेकी अन्तराष्ट्रिय पदक विजेता प्रजिष्मा श्रेष्ठलाई नगदसहित सम्मान गरिएको छ । प्रजिष्माले अन्तराष्ट्रिय स्तरमा पाएको सफलताको उच्च मुल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको संघका अध्यक्ष रफि अन्सारीले जानकारी दिए ।  

प्रतिक्रिया