डिल कुमारी नेपाल ,चितवन । चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन् ।
६ तले आधुनिक भवनको भुइँ तलामा इन्टेरियरका कामहरु सकेर कार्यालयको माथिल्लो तलाहरुमा इन्टेरियरका केही काम भने बाकी रहेको छ। ५३ करोड ३२ लाख ६४ हजारको लागतमा निर्माण गरिएको भवन संघ, प्रदेश र स्थानीय तह (भरतपुर महानगरपालिका)को लगानीमा निर्माण गरिएको हो। भवन निर्माणका लागि संघीय सरकारको २१ करोड ५८ लाख १४ हजार, बागमती प्रदेश सरकारको १९ करोड ८९ लाख ३६ हजार र महानगरपालिकाको ४ करोड ५० लाख रकम खर्च भैसकेको जानकारी दिइएको छ। निर्माण थालेको करीव २ वर्षमा भवन निर्माण सम्पन्न भएको हो। नेपाल नेत्र ज्योती संघले भोगचलन गर्दै आएको १ विगाहा १५ धुर जग्गामा सम्झौता गरेर भवन निर्माण गरिएको हो।२०७८ चैत ११ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भवनको शिलान्यास गरेका थिए।
२०४३ सालमा बनेको पुरानो र जीर्ण भवनलाई मर्मत र केही संरचना थपेर महानगर सञ्चालन हुँदै आएकोमा भदौं २४ गते जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीमा पुरानो भवन ध्वस्त पारिएको थियो। ७ कठ्ठा जमिनमा बनेको नयाँ भवनमा २२१ कोठा छन् । भूमिगत (अण्डरग्राउण्ड) पार्किङमा ५० कार र १५० वटा मोटरसाइकल राख्न सकिने भवनको भुइँतलामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको कार्यकक्ष छ भने दोस्रो तलामा नगर उप्रमुखको कार्यकक्ष रहने छ । भवनमा २ वटा लिफ्ट र ३ वटा भित्री तथा २ बाहिरी सिँढीहरु छन् । २५० र ३५० जना अट्ने दुई वटा ठूला हल तथा बिभिन्न महाशाखा, शाखाका लागि साना–ठूला गरी १५८ कोठा छन् । बैठक कक्षमात्रै ८ वटा छन् । हरेक तलामा दुई–दुई वटा बैठक कक्ष छन् ।
भवनमा ज्येष्ठ नागरिक प्रतिक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहलसमेत छन् । सबैभन्दा माथिल्लो तलामा अडिटोरियम हल र अर्को साइडमा कल्चरल म्युजियम रहनेछन् ।भवनका हरेक तलामा अपाङ्गमैत्री शौचालयसहित प्रत्येक तलामा पुरूष र महिलाका लागि अलग्गै शौचालय छन् ।
पूर्ण अपाङ्गमैत्री यस भवनले आउँदो झण्डै एक सय वर्षसम्म भरतपुरवासी नागरिकलाई सेवा प्रदान गर्ने महानगर प्रमुख दाहालले बताइन् । ‘महानगरको गतिलो भवन नहुँदा हाम्रा सेवाहरु विभिन्न ठाउँबाट दिनुपरेको छ, यो भवन बनेपछि सबै सेवाहरु एकै ठाउँबाट प्रवाह हुन्छ,’ नगर प्रमुख दाहालले भनिन्, ‘भरतपुर महानगरको एक गौरवका रुपमा यो भवन रहने मलाई विश्वास छ ।’