राजभक्त योङ्या " मिधुङ" पाँचथर
नेपाल केवल हिमाल, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको देश मात्र होइन, यो शान्ति, अध्यात्म र सभ्यताको पवित्र भूमि पनि हो। यही भूमिले भगवान गौतम बुद्ध जस्ता विश्वशान्तिका महामानवलाई जन्म दिएको छ, यही भूमिले किराँत धर्मगुरु महागुरु फाल्गुनन्द लिङ्देन जस्ता समाज सुधारक र अहिंसाका पुजारीलाई जन्माएको छ, र यही भूमि सनातन हिन्दु धर्मको प्राचीन तपोभूमि, देवस्थल र दर्शन परम्पराले समृद्ध छ। त्यसैले नेपाललाई “शान्तिभूमि” र “त्रिधार्मिक स्थल” (हिन्दु, बौद्ध र किराँत धर्मको साझा पवित्र केन्द्र) का रूपमा स्थापित गर्ने समय आएको छ।
विश्व इतिहासमा युद्ध, हिंसा र द्वन्द्वका अनेक उदाहरण छन्। तर यिनै अशान्तिबीच नेपालले सधैं शान्तिको सन्देश दिएको छ। लुम्बिनी, जहाँ गौतम बुद्धको जन्म भयो, यो केवल नेपालको मात्रै होइन, सम्पूर्ण मानव सभ्यताको शान्तिको केन्द्र हो। बुद्धले दिएका अहिंसा, करुणा, मैत्री र मध्यम मार्गका सिद्धान्त आज पनि विश्वशान्तिको आधार हुन् भने महागुरु फाल्गुनन्दले “सत्यधर्म मुचुल्का” मार्फत हिंसा, पशुबलि, मद्यपान, सामाजिक विभेद र कुरीतिविरुद्ध सुधार अभियान चलाउँदै मानव एकता र शान्तिपूर्ण समाजको परिकल्पना गरेका थिए। महागुरुका विचारले नेपाललाई केवल धार्मिक भूमि मात्र होइन, नैतिक सभ्यताको भूमिको रूपमा चिनाउने छ।
नेपालको विशेषता के हो भने यहाँ धार्मिक रूपमा कुनै द्वन्द देखिदैन सबैले एकाअर्का प्रति सहिष्णुता र सहअस्तित्वको व्यवहार गर्छन् ।नेपालमा हिन्दु धर्मका पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, गोरखनाथ जस्ता विश्वप्रसिद्ध तीर् स्थलमात्र हैन बौद्ध धर्मका लुम्बिनी, स्वयम्भू, बौद्धनाथ, नमो बुद्ध अनि किराँत धर्मका माङसेबुङ, लब्रेकुटी, कुम्भकर्ण क्षेत्रजस्ता पवित्र स्थल रहेका छन् । यी स्थानहरू केवल धार्मिक स्थल मात्रै हैन मौलिक अध्यात्मका धरोहर पनि हुन्। हिन्दु ,बौद्ध र किराँत धार्मिक परम्परा हरुको संरक्षण ,सम्बर्द्धन ,बिकास र प्रचारप्रसार हाम्रो दायित्व हो।
नेपाललाई त्रिधार्मिक स्थलका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता दिन सके,हाम्रो देश विश्वशान्तिको केन्द्र बन्न सक्छ।लुम्बिनी, पशुपतिनाथ र किराँत पवित्रस्थल लारुम्बालाई जोडेर Global Peace Corridor निर्माण गर्न सकिन्छ।भने तीन धर्मका तीर्थहरूलाई एकीकृत गरी नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्र बनाउन सकिन्छ।यसबाट सभ्यतागत पहिचान बलियो हुन्छ भने नेपाललाई केवल भूराजनीतिक राष्ट्र मात्र होइन, आध्यात्मिक सभ्यता राष्ट्रका रूपमा पनि चिनाउन सकिन्छ ।विश्वमा बढ्दो धार्मिक द्वन्द्वबीच हामीले नेपालबाट धार्मिक सहअस्तित्व र धार्मिक सहिष्णुताको सन्देश दिन सक्छौ ।
नेपाललाई शान्तिभूमि (land of peace) बनाउने कुरा केवल भावनात्मक नारा भएर पुग्दैन। यसका लागि लुम्बिनी–पशुपति–माङसेबुङलाई जोड्ने शान्ति मार्गको विकास गरि “नेपाललाई शान्ती भूमि र त्रिधार्मिक स्थलका रुमा विश्व सामु चिनाउन सकिन्छ। यसका लागि शान्तिभूमि” अन्तर्राष्ट्रिय कूटनीतिक अभियान,धार्मिक सम्पदाको संरक्षण र विश्व व्यापी प्रचारप्रसार, शैक्षिक पाठ्यक्रममा शान्ति दर्शन समावेश गर्ने जस्ता ठोस कदम चाल्नु जरुरी देखिन्छ। फाल्गुनन्द र बुद्धको साझा सन्देश
गौतम बुद्धले भने—“घृणा घृणाले होइन, प्रेमले अन्त्य हुन्छ।”
फाल्गुनन्दले भने—“पापले सकिन्छ, धर्मले बढिन्छ।”यी दुई सन्देशको सार एउटै छ—मानवता, शान्ति र सहअस्तित्व।
त्यसैले नेपाल केवल एउटा देश मात्र होइन,यो बुद्धको करुणा,फाल्गुनन्दको सुधार चेतना,र सनातन धर्मको अध्यात्म बोकेको जीवित सभ्यता हो।
त्यसैले नेपाललाई शान्तिभूमि र त्रिधार्मिक स्थलका रूपमा स्थापित गर्न साझा राष्ट्रिय संकल्प र अन्तर्राष्ट्रिय अभियानको आवश्यकता रहेको छ।
जहाँ बुद्ध जन्मिए, जहाँ फाल्गुनन्दले शान्तिको दर्शन दिए,जहाँ धर्महरू सहअस्तित्वमा छन् - त्यो भूमि नेपाल, विश्वको शान्तिको केन्द्र बन्न सक्छ।