दुर्घटनामा एकापरिवारका तीन सदस्यसहित चार जनाको मृत्यु

dasgaja.com

धनुषा। धनुषाको पूर्वपश्चिम राजमार्गअन्तर्गत शनिबार साँझ भएको एक भीषण दुर्घटनामा एकापरिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार, धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ स्थित वीरेन्द्र बजारमा विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका, भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र करिब ४० वर्षीय अटो चालक डम्बर राईको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। मृत्यु हुनेमध्ये धनबहादुर, शम्भु र निशा एकापरिवारका सदस्य हुन्।

दुर्घटनामा १४ वर्षीय शीतल मगर र नौ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि जनकपुरधामस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया