आठ लाख ३७ हजार ९४ मतदाता थपिए

dasgaja.com

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको छ ।

निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि दिएको समय मंसिर ५ गतेसम्म नेपालमा आठ लाख ३७ हजार ९४ जनाले मतदाता नामावली दर्ताका लागि आवदेन दिएका हुन्। 

सरकारले अध्यादेशबाट नामावली दर्ता प्रक्रिया सुरु गर्ने घोषणा गरेयता आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ता गराएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

आयोगको वेबसाइटमार्फत अनलाइन प्रविधिबाट तीन लाख ४४ हजार ९१४ जनाले नामावली दर्ता गराएका छन् । जसमध्ये एक लाख ९२ हजार ८९० जना पुरुष र एक लाख ५१ हजार ९८० जना महिला छन् ।

आयोगका अनुसार ४४ जना लिंग अन्य उल्लेख गरेर पनि मतदाताले नामावली दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट चार लाख ९२ हजार १८० जनाले नामावली दर्ता गराएका छन् । जसमध्ये दुई लाख ८० हजार ३६५ पुरुष, दुई लाख ११ हजार ७९८ महिला र १७ जना अन्य रहेका छन् ।

राष्ट्रिय परिचयपत्र वाहक नागरिकले राष्ट्रिय पञ्जीकरण विभागबाट दर्ता गराउँदा बायोमेट्रिक दिन नपर्ने हुँदा नामावली दर्तामा थप उत्साह देखिएको आयोगले जनाएको छ ।

आयोगको पोर्टलबाट करिब ५५ दिनमा दर्ता भएको सङ्ख्याभन्दा करिब एक लाख ५० हजारभन्दा बढी नागरिकले पञ्जीकरण विभागबाट सुरु भएको एक सातामै नामावली दर्ता गराएका छन्।

आयोगको पछिल्लो अद्यावधिक विवरण अनुसार नेपालमा अब मतदाताको सङ्ख्या एक करोड ९० लाख पाँच हजार ३२४ पुगेको छ । यसअघि मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० जना थियो ।

प्रतिक्रिया