काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीको बीओपी डुबानमा परेको छ । जोगबुढा नदीको पानी बस्ती पस्दा दुई बीओपी पनि डुबानमा परेका छन् ।
दोधारा चाँदनी नगरपालिका १० सुन्दरनगर र दोधारा चाँदनी ७ कञ्चभोजको बिओपी डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
डुबानपछि सुन्दरनगरको बीओपीमा कार्यरत २३ जनालाई सोही ठाउँको ओमकार आधारभूत विद्यालय र कञ्चभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ । डुबान प्रभावित स्थानीयलाई सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारिरहेको छ ।
आइतबारदेखिको अविरल वर्षापछि ५२ परिवार डुबानबाट प्रभावित बनेका छन् । दोधारा चाँदनी १० शान्ति टोलका डुबान प्रभावित १२ घरपरिवारका ४० जनालाई उद्धार गरिएको छ । उनीहरूलाई दोधारा चाँदनी-९ स्थित अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ ।
डुबानका कारण दोधारा चाँदनी र भीमदत्त नगरपालिका थप ४५ परिवार प्रभावित भएका छन् । दोधारा चाँदनी नगरपालिका– ८ रामपुरे टापु र जर्गा टोलमा जोगबुढा नदीको पानी पसेको छ । डुबानले रामपुरे टापु र जर्गा टोलका २५ परिवारका ७० जना प्रभावित भएका छन् ।
उनीहरूलाई जनज्योति माध्यमिक विद्यालयमा सारिएको प्रहरीले जनाएको छ । जोगबुढा नदी पस्दा दोधारा चाँदनी-३ पटराखल्लाका १५ परिवारका ५५ जना विस्थापित भएका छन् । उनीहरूलाई सर-समान र चौपायासहित जमुना आधारभूत विद्यालय जमुनाघाडीमा सारिएको छ ।
भीमदत्त नगरपालिका-१० भुजेलास्थित सेन्सोरियल स्कुल डुवानमा परेको छ । डुबानमा परेका भीमदत्त नगरपालिका-११ चौकीसत्ताका ५ परिवारलाई सुरक्षित स्थानमा सारिएकोे छ । सो क्षेत्रमा आधा दर्जन घर डुबानमा परेका छन् ।
महाकालीमा पानी बढ्दो
महाकाली नदीमा पानीको बहाव बढ्दो क्रममा छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार महाकाली नदीमा पानीको बहाव बढेपछि चार पाङ्ग्रे र तीन पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।
महाकाली नदीमा पानीको बहाव दुई लाख क्युसेक नाघेको छ । महाकालीमा निरन्तर पानीको बहाव बढिरहेको हो ।
महाकालीमा पानीको बहाव बढेपछि भीमदत्त नगरपालिका ११ गड्डाचौकीस्थित महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा ठूला सवारी साधन आवतजावत बन्द गरिएको छ ।